श्रीः श्रीमते शठकोपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्री वानाचल महामुनये नमः
श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन
श्रीवैष्णव कसरी बन्न सकिन्छ?
श्रीवैष्णव बन्नको लागि हाम्रा पूर्वाचार्यहरुले कार्यविधि तय गर्नुभएको छ । यस विधिले साधारण जीवात्मालाई श्रीसम्प्रदायमा प्रवेश गराउँदछ । यस विधिलाई पञ्चसंस्कार भनिन्छ ।
संस्कार भनेको शुद्दिकरणको प्रकृया हो । अशुद्द अवस्थाबाट शुद्द अवस्थामा रुपान्तरण गर्ने प्रकृया नै संस्कार हो । यहि विधिद्वारा हामी सर्वप्रथम श्रीवैष्णव हुन्छौं । जसरी ब्राम्हण परिवारमा जन्मेर ब्रम्ह यज्ञ विधिद्वारा ब्राम्हण बन्न सुलभ हुन्छ, त्यसरी नै श्रीवैष्णव परिवारमा जन्मेर पञ्चसंस्कार विधिद्वारा श्रीवैष्णव बन्न सुलभ हुन्छ । यहाँ ब्राम्हण परिवारको उदाहारण दिनुको तात्पर्य यो हो कि श्रीवैष्णव बन्नको लागि श्रीवैष्णव परिवारमा जन्म लिनु अावश्यक छैन तर ब्राम्हण हुनको लागि ब्राम्हण परिवारमै जन्मनु पर्दछ । श्रीवैष्णवत्व अात्मासंग जोडिएको विषय हो जबकी ब्राम्हणत्व शरीरसंग जोडिएको विषय हो । श्रीवैष्णव सम्प्रदायमा कोहि कसैलाई पनि जातका आधारमा, राष्ट्रियताका आधारमा, लिंगका अाधारमा, अार्थिक अवस्थाका अाधारमा र पारिवारिक अवस्थाका अाधारमा भेदभाव गरिंदैन । मोक्ष प्राप्तिको चाहना गर्ने जो कोहि पनि श्रीवैष्णव बन्न सक्दछन् । र, श्रीवैष्णव भैसके पश्चात ब्रम्हाजी, शिवजी, दुर्गाजी, इन्द्र, वरुण आदि देवी देवताहरुसंगको र ति देवीदेवताहरुको आराधना गर्ने मानिसहरुसंगको सत्संग त्याग्नु पर्दछ किनकि देवीदेवताहरु त भगवान श्रीहरिद्वारा यो संसार चलाउनको लागि खटाइएका विभिन्न विभागका प्रमुखहरु जस्तै हुनुहुन्छ ।
पञ्चसंस्कार
कुनै एक जीवात्मालाई श्रीवैष्णव बनाउनको लागि शास्त्रहरुमा उल्लेख गरिएको प्रकृयालाई पञ्चसंस्कार (समाश्रयणम्) भनिन्छ । ” “तापः पुण्ड्रः तथा नामः मन्त्रो यागश्च पञ्चमः भन्ने श्लोकले पञ्चसंस्कारको विविध पक्षहरुको बारेमा चर्चा गरेको छ । पञ्चसंस्कारका पाँच विशेष संस्कारहरु यस प्रकार छन् ।
- ताप – शंख चक्र लगाउने प्रकृया – तप्त शंख र चक्रको छाप हाम्रो बाहुहरुमा लगाउने प्रकृया । शंख र चक्रले हामीलाई भगवानको वस्तुको रुपमा परिचित गराउँदछ । जसरी कुनै बस्तुमा त्यस बस्तुको मालिकको नाम लेखिएको हुन्छ त्यसरी नै श्रीवैष्णवहरुले भगवानको चिन्हहरुको धारण गर्नुपर्दछ किनकि हाम्रा मालिक स्वयं भगवान हुनुहुन्छ ।
- पुण्ड्र – द्वादश उर्ध्व पुण्ड्र धारण – पुरुषले आफ्नो शरीरको १२ भागमा उर्ध्व पुण्ड्र ( तिलक र श्रीचूर्ण) धारण गर्ने र स्त्रीले निधारमा मात्र तिलक र श्रीचूर्ण धारण गर्ने ।
- नाम – दास्य नाम – श्रीवैष्णव भैसके पश्चात आफ्नो आचार्यद्वारा दिइने नयाँ नाम – पुरुषले सो नामको पछाडि रामानुज दास भन्ने र स्त्रीले सो नामको पछाडि रामानुज दासी भन्ने । जस्तै मधुरकवि रामानुज दास, गोदा रामानुज दासी ।
- मन्त्र उपदेश – श्रीवैष्णव भैसके पश्चात आफ्नो आचार्यबाट गोप्य मन्त्र प्राप्त गर्नु । मन्त्रको जप गर्नाले दुखबाट मुक्ति मिल्दछ । आचार्यबाट प्राप्त गरिने मुलमन्त्र, द्वयमन्त्र र चरम मन्त्रले यस संसारबाट मोक्ष मिल्दछ ।
- याग – भगवान सेवा – आफ्नो घरमा नित्य भगवानको अाराधना गर्ने ।
योग्यता
अकिन्चन (आफुलाई अयोग्य तथा असमर्थ मान्नु) र अनन्य गतित्व (अरु कुनै गति वा उपेय नहुनु ) जस्ता दुइ गुणहरु भगवानमा शरणागत हुुनको लागि आवश्यक योग्यताहरु हुन् । यी दुई गुणहरुबाट युक्त भइएमा मात्र हामी भगवानमा पूर्णतः शरणागत हुन सक्छौं र भगवानबाट हाम्रो उद्दार हुन सक्छ ।
पञ्चसंस्कारको उद्देश्यहरु
- तत्व ज्ञानन् मोक्ष लाभः भनेर शास्त्रमा लेखिए बमोजिम मोक्ष प्राप्तिका लागि ब्रम्ह विषयको वास्तविक ज्ञान हुनु पर्दछ । आफ्नो आचार्यबाट मन्त्र उपदेशको एक प्रमुख अंग अर्थ पञ्चकको ज्ञान (ब्रम्ह- ईश्वर, जीवात्मा- आत्मा, उपाय- भगवानलाई प्राप्त गर्ने साधन, उपेय- परिणाम अर्थात भगवान, विरोधि- भगवान प्राप्तिमा बाधाहरु) प्राप्त गरेर मात्र हामी वास्तविक लक्ष्य प्राप्त गर्नको लागि योग्य हुन्छौं । त्यो वास्तविक लक्ष्य भन्नाले भगवान श्रीयपतिको लागि नित्य विभुतीमा सदा कैंकर्य गरिरहनु हो । र वास्तविक ज्ञान भन्नाले आफुलाई भगवानमा पूर्णरुपले आश्रित मान्नु हो । यस्तो ज्ञान र उपेय पञ्चसंस्कारबाट मात्रै प्राप्य छ ।
- यस संसारमा रहँदा आफ्नो आचार्य र श्रीवैष्णवहरुको सेवा तथा दिव्यदेश एवं आ आफ्नो घरमा विराजमान अर्चावतार भगवानको सेवाको अवसर पञ्चसंस्कारको उद्देश्य हो ।
- आफुले जानेको श्रीसम्प्रदाय सम्बन्धि विषय अरुहरुको उद्दारको लागि अरु जीवात्माहरुलाई पनि अवगत गराउनु पर्दछ । श्रीरामानुज स्वामीजीले सधैंभरिनै श्रीभाष्य र भगवत विषयको ज्ञान प्राप्त गरी सो ज्ञान अरुलाई बाँड्नको लागि आफ्ना शिष्यहरुलाई भनिरहनु हुन्थ्यो । श्री भाष्य र भगवत विषयको ज्ञान प्राप्त गर्न प्रथमतः पञ्चसंस्कार आवश्यक छ ।
जीवात्मा र परमात्माको मिलन गराउने कार्य आचार्यले गर्नुहुन्छ । वास्तवमा श्रीरामानुज स्वामीजीले र हाम्रा पूर्वाचार्यहरुले सदैव आफुलाई आचार्य निष्ठ देखाउनु भयो । आफुलाई हरेक क्षण आचार्यमा समर्पित गर्ने प्रपन्नहरुलाई आचार्य निष्ठ भनिन्छ । पञ्चसंस्कार पश्चात जीवात्माले वास्तविक तत्व बुझी आफुलाई भगवानमा शरणागत गराउने भएकाले पञ्चसंस्कारको दिनलाई जीवात्माको वास्तविक जन्म दिवस मानिन्छ । भगवान र जीवात्माको सम्बन्ध पति(भगवान) र पत्नी (जीवात्मा) को जस्तो भएकाले अन्य देवी देवताहरुको परित्याग गर्नै पर्छ किनकी एक पतिब्रता नारीले आफ्नो पति बाहेक अन्यको बारेमा सोच्न पनि सक्दिनन् ।
श्रीवैष्णव सम्प्रदायको प्रमुख सिद्दान्त भनेको यो संसारको परित्याग तथा परमपद वैकुण्ठको प्राप्ति जहाँ नित्य निरन्तर श्रीयपति भगवानको कैंकर्य गर्न पाइन्छ ।
पञ्चसंस्कार कसले गराउन सक्नुहुन्छ?
श्रीवैष्णव सिद्दान्त अनादि काल देखि चलि अाएको भएता पनि यो सिद्दान्तको पुनर्जागरण आल्वारहरु तथा आचार्यहरुबाट भएको हो । श्रीनाथमुनी स्वामीजी तथा श्रीयामुनाचार्य स्वामीजीहरुको निर्देशनलाई अाधार लिइ लामो समय देखि लुप्तप्राय अवस्थामा रहेको यस श्रीसम्प्रदायलाई शास्त्रहरुको अध्ययनद्वारा भगवत रामानुज स्वामीजी महाराजले पुनः स्थापित गर्नुभयो । श्रीरामानुज स्वामीजी महाराजले ७४ सिंहाशनाधिपतिहरुको स्थापना गरेर उहाँहरुलाई पञ्चसंस्कार दिने अख्तियारी प्रदान गर्नुभयो । यसरी ७४ सिंहाशनाधिपतिहरुको परम्पराबाट चलिअाउनु भएका आचार्यहरुले पञ्चसंस्कार दिन सक्नुहुन्छ । श्रीवरवरमुनी स्वामीजीले अष्ठदिग्गज स्वामीजीहरु (संन्यासी जीयर स्वामी तथा गृहस्थ स्वामीजीहरु ) को ८ गद्दी नियुक्त गर्नुभयो र ति ८ गद्दी अन्तर्गतका परम्परामा हुनुभएका स्वामीजीहरुले पञ्चसंस्कार दिन सक्नुहुन्छ ।
हामीले पञ्चसंस्कार अर्थात समाश्रयण प्राप्त गरेको । गर्ने दिनमा के गर्नु पर्छ ?
- बिहान सबेरै उठ्ने ।
- भगवान, आल्वारहरु र आचार्यहरुको ध्यान गर्ने । किनकी यो दिन हाम्रो वास्तविक जन्म दिवस हो ।
- स्नान, उर्ध्वपुण्ड्र धारण तथा सन्ध्याबन्धन जस्ता नित्य कर्महरु गर्ने ।
- समयमै आचार्यको मठमा जाने । फल, भगवान र आचार्यको लागि वस्त्र र तथा आफ्नो क्षमता अनुसारको सम्भावना अर्थात दक्षिणा लिएर जाने ।
- समाश्रयण हुने ।
- आचार्यको श्रीपादतिर्थ लिने ।
- आचार्यको निर्देशनलाई ध्यान दिएर सुन्ने ।
- आचार्यको मठमै प्रसाद पाउने ।
- आचार्यको मठमै दिनभरी बसी आचार्यबाट सम्प्रदाय विषय यथाशक्य जान्ने ।
- समाश्रयण भएको दिनमा आफ्नो कार्यस्थल जस्तै अफिस, व्यवसायमा जान हतार नगर्ने । यो दिन हाम्रो वास्तविक जन्म दिन भएकाले गुरुपरम्परा प्रति कृतज्ञ रहने ।
पञ्चसंस्कार प्रारम्भ हो वा अन्त्य हो ?
समाश्रयण एक साधारण कर्म हो र यो अन्त्य हो भन्ने भ्रम धेरैलाइ हुन्छ तर त्यस्तो होइन । समाश्रयण भनेको त श्रीवैष्णव जीवनको शुरुवात हो । अन्तिम लक्ष्य भनेको त भगवति महालक्ष्मीको पुरुषकारबाट श्रीमन्नारायण भगवानको सेवामा नित्त निरन्तर लाग्नु नै हो । यसको पद्दतिको बारेमा हाम्रा पूर्वाचार्यहरुले बताउनु भएको छ । सो पद्दति हो आफ्नो आचार्यको निर्देशन खुशीसाथ पालन गर्दै आचार्यको पुरुषकारद्वारा भगवानको प्राप्ति । हरेक जीवात्माले यो पद्दति आफ्नो दैनिक जीवनमा लागु गरेमा मोक्ष प्राप्त गर्दछ ।
मुमुक्षुप्पडि ग्रन्थको ११६ औ सुत्रमा श्री पिल्लै लोकाचार्य स्वामीजी श्रीवैष्णवहरुलाई निम्न बमोजिमका नियमहरु आज्ञा गर्नुहुन्छ ।
१ सबै सांसारिक बस्तुहरुको पूर्ण परित्याग ।
२ श्रीमन्नारायण भगवानलाईनै एकमात्र रक्षक मानी वहाँमै शरणागत हुनु ।
३ आफ्नो वास्तविक लक्ष्य (नित्य कैंकर्य) प्राप्तिमा परिपूर्ण विश्वाश राख्नु ।
४ आफ्नो वास्तविक लक्ष्य (नित्य कैंकर्य) प्राप्तिमा हरदम सधै लागिरहनु
५ यस संसारमा रहँदा दिव्य देशहरुमा विराजमान अर्चावतार भगवानको दिय्य गुणहरुको आनन्द लिंदै भगवत भागवत सेवामा मग्न रहनु ।
६ माथि उल्लेख भए बमोजिमका गुणहरुद्वारा युक्त भगवानका भक्तहरुलाई देख्दा खुशी हुनु र वहाँहरुसंगको सामीप्यताको इच्छा राख्नु ।
७ अष्टाक्षरी मन्त्र र द्वयमन्त्रको नित्य जप गरिरहनु ।
८ आफ्नो अस्मदाचार्यको सदैव भक्ति गरिरहनु ।
९ आचार्य र भगवान प्रति कृतज्ञ रहनु ।
१० ज्ञान, भक्ति र वैराग्यले सुसम्पन्न श्रीवैष्णवहरुको मात्र संगत गर्नु ।
अधिक जानकारीको लागि कृपया यो लिंक हेर्नुहोला https://granthams.koyil.org/2012/08/srivaishnava-lakshanam-5/ .
श्रीरामानुज स्वामीजी महाराजले पञ्चसंस्कारको पद्दतिलाई संस्थागत गर्नुभइ यसको प्रचार प्रसार समेत गर्नुभएकोमा हामी श्रीस्वामीजी प्रति सधैं कृतज्ञ रहनु पर्छ । श्रीस्वामीजीले हामीजस्ता अज्ञानी जीवात्माहरु प्रति अपार करुणा राख्दै हाम्रालागि मोक्ष मार्गको ढोका खोलिदिनु भयो ।
आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।
अडियन् प्रमोद रामानुज दास (नेपाल)
श्रोत – https://granthams.koyil.org/2015/12/simple-guide-to-srivaishnavam-pancha-samskaram/
archived in https://granthams.koyil.org/
प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – https://granthams.koyil.org
प्रमाता (आचार्य) – https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org